
मंसिर २१ मकवानपुर :- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ चुनावी रूपमा थप रोचक बन्ने संकेत देखिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ बाट एउटै थरका दुई नेताले फरक फरक दलबाट उम्मेदवारी दिने निश्चित भएपछि राजनीतिक सरगर्मी बढेको हो ।
प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट थाहा नगरपालिका वडा नम्बर ३ का लबशेर बिष्ट र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट सोही वडाका सन्तोष बिष्ट उम्मेदवार बन्ने पक्का भएको हो।
नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिवालय सदस्य लबशेर बिष्ट थाहा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुन् । स्थानीय तहको नेतृत्व सम्हालेको अनुभव भएका बिष्टलाई अनुभवी र संगठनात्मक रूपमा बलियो नेताको रूपमा हेरिएको छ ।
उता प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सन्तोष बिष्ट भने युवा पुस्तामाझ लोकप्रिय नेता मानिन्छन् । उनी यसअघि नेकपा (माओवादी) केन्द्रको केन्द्रीय भूमिकामा सक्रिय थिए । पूर्व उद्योग वाणिज्य मन्त्री मातृका प्रसाद यादवको सचिवालयमा रहेर जिम्मेवारी सम्हालेका बिष्टले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले माधवकुमार नेपाल सहित अन्य दलसँग एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नजाने निर्णय गर्दै जनार्दन शर्मा (प्रभाकर) र डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा केन्द्रीय सदस्यको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
यसै क्षेत्रबाट नेकपा एमालेका तर्फबाट पूर्व साम्सद एबम प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला उम्मेदवार बन्ने निश्चित भइसकेको छ भने अन्य दलहरू उम्मेदवार छनोटको प्रक्रियामा रहेका छन् ।
निर्वाचन आयोगले आगामी माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । एकै वडाबाट दुई ‘बिष्ट’ सहित अनुभवी र चर्चित नेताहरू मैदानमा उत्रँदा मकवानपुर २ को चुनाव थप चासोको केन्द्र बन्ने देखिएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan