
हेटौँडा, असार २५ / नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशन असार २७ र २८ गते हेटौँडामा हुने भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत संघका वर्तमान महासचिव सरोजकुमार खनालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो नेतृत्वको सम्पूर्ण प्यानल सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा संघका वर्तमान अध्यक्ष हिरालाल श्रेष्ठले आगामी नेतृत्व सरोजकुमार खनाललाई हस्तान्तरण गर्ने घोषणा गर्दै आफू अब सङ्घको अभिभावकीय भूमिकामा रहने बताए। उनले खनालको नेतृत्वमा संघ अझ सशक्त र व्यवसायीमैत्री बन्ने विश्वास व्यक्त गर्दै उनको उम्मेदवारीलाई समर्थन गरे।
सरोज खनाल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, उपाध्यक्षमा शङ्कर गिरी, विनोदकुमार मानन्धर, शालिकराम ढकाल र केशवकुमार उप्रेती, महासचिवमा राजेश खड्गी, कोषाध्यक्षमा ठाकुरनाथ सुवेदी, सचिवमा गुणराज घिमिरे, सुरेश खड्गी, कपिलबहादुर बानियाँ, देवनारायण लामिछाने र विष्णुप्रसाद पँगेनी, तथा सहकोषाध्यक्षमा कुमार बर्तौलाले उम्मेदवारी दिएका छन्।
त्यस्तै सदस्य पदमा डम्बरबहादुर नेपाली, गोकुल बर्तौला, पुरुषोत्तम पुडासैनी, तिलकबहादुर कार्की, इन्द्रबहादुर भोलन, भीमप्रसाद बास्तोला, विष्णुलाल श्रेष्ठ, गोविन्द रेग्मी, नवीन भण्डारी, कमलबहादुर शाह, श्यामप्रसाद उप्रेती र इन्द्रकुमार त्रिपाठी उम्मेदवार रहेका छन्।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार सरोजकुमार खनालले यातायात व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत सुशासन, पारदर्शी नेतृत्व, व्यवसायीमैत्री नीति तथा सङ्घको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो घोषणा–पत्रमार्फत व्यवसायीका साझा समस्या समाधान र सङ्घलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरेका थिए।
उल्लेखनीय छ, सङ्घको १५औँ अधिवेशन २०७४ सालमा सम्पन्न भएको थियो। यसपटकको अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले आगामी कार्यकालका लागि सङ्घको जिम्मेवारी सम्हाल्नेछ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan