
चैत्र २९,हेटौडा :- चैत्र १५ गते भएको राजावादी आन्दोलनमा हिंसा भड्काएर फरार रहेका दुर्गा प्रसाईं पक्राउ परेको खबर गएको बिहिवार रातिदेखिनै मिडियामा व्यापक बन्यो।
विगत एक सातादेखि प्रसाईंको खोजीमा भारतको आसामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो। उनलाई बिहीबार साँझ आसामबाट नेपालतर्फ हिँडाइएको थियो।
प्रसाईं झापा हुँदै भारत पुगेको सूचना पाएपछि प्रहरीले व्यापक खोजी जारी राखेको थियो। स्रोतका अनुसार उनी भारतको सिलिगुडीस्थित प्रधाननगरमा त्रिमुल कङ्ग्रेसका एक नेताको घरमा आश्रय लिएर बसेका थिए। प्रहरीले उनको सेल्टर पत्ता लगाएपछि उनी त्यहाँबाट आसाम भाग्ने क्रममा आसाम प्रहरीद्वारा पक्राउ परेका हुन्। सेल्टर पत्ता लागेपछि प्रसाईंले एक भिडियो र प्रहरीसँग आत्मसमर्पण गर्ने स्ट्याटस सार्वजनिक गर्दै आफू नेपालमै रहेको र आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी भए तुरुन्तै सार्वजनिक हुने बताएका थिए।
पक्राउ परेका प्रसाईंलाई नेपाल ल्याएर विभिन्न मुद्दामा अनुसन्धान गरी मुद्दा चलाउने तयारी छ।दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो।आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ।अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।
सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।
प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउने तयारी भएको छ ।
उनलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan