
काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिए ।
बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ । नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।
चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan