
काठमाडौं, कार्तिक २७।
नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेशका निर्वाचित उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ले पद तथा पार्टी सदस्यता दुवै परित्याग गरेका छन्।
पाण्डेले केन्द्रिय संयोजकलाई सम्बोधन गर्दै लेखेको भावनात्मक राजीनामा पत्रमा विगतको भूमिगत युद्धकालदेखि शान्ति प्रक्रियासम्मको योगदान र आजको पार्टीभित्र देखिएको स्वार्थकेन्द्रितता, असहिष्णुता र अवसरवादप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्।
राजीनामा पत्रमा उनले लेखेका छन्, “महान् शहीदहरूलाई सम्झँदै म जस्तै घाइते सहयोद्धाहरूको पीडा मनमा राखेर माटो छोएर यो पत्र लेख्ने हिम्मत गरेको हुँ। म पार्टीमा रहँदा ईमान बेचिनँ, कुनै व्यक्तिगत फाइदा लिन खोजिनँ, तर अहिले पार्टीभित्रको चरित्र र अनुशासनले गम्भीर चिन्ता उत्पन्न गरेको छ।”

पाण्डेले पार्टीभित्र देखिएको व्यक्तिवाद, असहिष्णुता र संगठनभित्रको ‘घेराबन्दी संस्कृति’लाई मुख्य कारण बताउँदै आफूजस्ता कार्यकर्ताहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनले प्रचण्डसँगको पुरानो राजनीतिक र वैयक्तिक सम्बन्धको स्मरण गर्दै भनेका छन्, “तपाईंलाई सुरक्षामा रहँदा हाम्रा त्याग, वफादारी र त्यही समयमा देखिएको जनसेवा अहिले बेखबरजस्तो महसुस हुन्छ।”
त्यसैगरी, उपत्यका विशेष प्रदेश इन्चार्ज/अध्यक्षलाई पठाएको औपचारिक राजीनामा पत्रमा उनले भनेका छन्, “पार्टीभित्र देखिएका व्यवहारिक त्रुटि, आन्तरिक असमानता र विचारगत विचलनका कारण अब पार्टीमा बसिरहनु उचित नदेखी उपाध्यक्ष पद र सदस्यता दुवै त्याग गरेको छु।”
पाण्डेले पछिल्लो समय देखिएको ‘जेनेरेसन विद्रोह’ र नयाँ राजनीतिक चेतनालाई पार्टीले बुझ्न नसकेको पनि टिप्पणी गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार पाण्डे पार्टीका निष्ठावान् पुराना योद्धामध्ये एक हुन्, जसले युद्धकालदेखि शान्ति प्रक्रियासम्म संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan