
काठमाडौं, कात्तिक १ ।
जेनजी युवा नेता मिरज ढुंगानाले आफूहरूद्वारा स्थापित राजनीतिक दलको उद्देश्य केवल चुनावमा जानु नभई देश विकास र प्रणाली परिवर्तनको अभियान रहेको स्पष्ट पारेका छन्।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले भने,
हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु होइन, यो कुरा क्लियर होस्। आधिकारिक हुनका लागि भिड भएर देश विकास हुँदैन,कि त एनजीओ खोल्नुपर्यो, कि त राजनीतिक दल हुनुपर्यो। नत्र हुलमुल मात्रै हुन्छ, हुलमुलले देश विकास गर्दैन।

ढुंगानाले देशमा वास्तविक परिवर्तनका लागि संगठनात्मक रूप आवश्यक भएको बताए। उनले भने, हामी सबैलाई आउनुस् भन्छौं, हाम्रो छाता ठूलो छ। यो खालको क्रान्ति धेरै समयपछि आउने कुरा हो।
उनले आगामी निर्वाचनमा सहभागी हुनुअघि दुई प्रमुख माग पूरा हुनुपर्ने शर्त पनि दोहोर्याए । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू हुनुपर्ने अर्को विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने।
ढुंगानाले भने, ३ करोड नेपालीमध्ये ८० लाखलाई भोटको अधिकार नदिई कसरी लोकतन्त्र भन्न सकिन्छ ? उनीहरूलाई अधिकार दिनैपर्छ। यी बटमलाइन पूरा नभई हामी चुनावमा जानेवाला नै छैनौं।
उनका अनुसार, देश विकासको बाटो हुलमुल होइन, स्पष्ट विचार र ठोस नीति हो। हामी देश विकासका लागि जुटेका हौं, पदका लागि होइन, उनले निष्कर्ष सुनाए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan