
हेटौंडा, जेठ २२/ विश्व वातावरण दिवसको अवसर पारेर बसामाडी जेसिस २०२६ ले नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र मानिने हेटौंडा औद्योगिक क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत औद्योगिक क्षेत्रभित्र सञ्चालित विभिन्न उद्योग परिसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको बसामाडी जेसिस २०२६ का अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जेसि दिपेन्द्र यादवले जानकारी दिनुभयो। उहाँले वातावरणीय सन्तुलन कायम राख्न तथा भविष्यका पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बसामाडी जेसिस २०२३ का अध्यक्ष तथा २०२६ का अध्यक्ष सल्लाहकार जेसि जनक भण्डारीले बढ्दो तापक्रम,जलवायु परिवर्तन र वातावरणीय असन्तुलन आजको प्रमुख चुनौती बनेको उल्लेख गर्दै वृक्षारोपणलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो।
वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा बसामाडी जेसिसका पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन जेसि बुद्धराज अर्यालले गर्नुभएको थियो भने सञ्चालन जेसि प्रमेश्वर पौडेलले गर्नुभएको थियो।
विश्व वातावरण दिवसको अवसरमा गरिएको उक्त वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति समुदाय र उद्योग क्षेत्रको साझा जिम्मेवारीलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan