
हेटौंडा, जेष्ठ २२,मकवानपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनले सञ्जीव पाठकलाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेको छ। शनिबार हेटौंडामा सम्पन्न अधिवेशनले आगामी पाँच वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।
यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका मनहरी गाउँपालिकाका पाठकलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी दिइएको हो। नवगठित कार्यसमितिको उपसभापतिमा टाकाराज थापा (सुरेश), सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा तथा देवकुमार अर्याल चयन भएका छन्। नवगठित समितिबाटै एक सदस्यलाई पछि कोषाध्यक्षमा मनोनयन गरिने जनाइएको छ।
अधिवेशनले हरिहर खतिवडालाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को सभापति तथा देवकुमार अर्याललाई क्षेत्र नं. २ को सभापति चयन गरेको छ। मकवानपुरका १० वटै स्थानीय तहबाट ४५० भन्दा बढी प्रतिनिधिको सहभागितामा जिल्ला अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ।
कार्यक्रम रास्वपाका कार्यवाहक जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती प्रमुख अतिथि रहेका थिए। उद्घाटन सत्रमा पार्टीका केन्द्रीय र्याट विभाग प्रमुख वैकुण्ठ थापा (आशिष), केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारलगायतको उपस्थिति रहेको थियो।
जिल्ला नेतृत्वका लागि प्रारम्भिक चरणमा तीन जनाले दाबी प्रस्तुत गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हो। यसअघि जिल्ला सभापति भरत पराजुली नेपाली कांग्रेसमा फर्किएपछि नेतृत्व रिक्त बनेको अवस्थामा पाठकले पार्टीको संगठन विस्तार र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
नवनिर्वाचित सभापति पाठकले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा पार्टी पंक्ति तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर संगठन सुदृढीकरण र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले एकताबद्ध ढंगले अघि बढ्दै मकवानपुरमा रास्वपालाई थप मजबुत बनाउने लक्ष्य रहेको बताए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan