
काठमाडौं, असार २०८२।
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकको प्रमुख आकर्षण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नु हो। उक्त प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूचीमा समावेश छ।
त्यस्तै, विषयगत समितिमा सदस्य हेरफेर सम्बन्धी जानकारी र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रका व्यहोरा सभामुखले बैठकमा प्रस्तुत गर्नेछन्।
अर्कोतर्फ, राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट गरिएका संशोधनहरूबारे छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूची रहेको छ। साथै, ती संशोधनहरूलाई सहमति दिइने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ।
साथै, संविधानसभा सदस्य तथा प्रतिनिधिसभाका पूर्वसांसद गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव पेस गरिने कार्यसूची पनि संसद् सचिवालयले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan