
हेटौँडा / राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमाले र नेकपाको गठबन्धनमा बन्न लागेको प्रदेश सरकारलाई आफ्नो समर्थन निरन्तर रहने बताएका छन्।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सरकारमा पार्टी सहभागी नहुने भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरे पनि थापाले भने बिहीबार नै आफूहरूको शपथ ग्रहण हुने दाबी गरेका छन्। उनले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपा संसदीय दलको समर्थन यथावत् रहने स्पष्ट पारे।
अध्यक्ष लिङ्देनको कदमप्रति असन्तुष्टि जनाउँदै थापाले अन्य प्रदेशमा सरकारलाई समर्थन गर्न दिने तर बागमतीमा भने संसदीय दलको अधिकार खोसेर केन्द्रीयता लाद्न खोजेको आरोप लगाए। उनले प्रदेश सरकारमा सहभागिताको विषयमा लामो समयदेखि केन्द्रलाई जानकारी गराउँदै आए पनि विभिन्न बहानामा रोक्ने काम भएको बताए।
आसन्न पार्टी महाधिवेशनलाई लक्षित गर्दै थापाले आफूहरू सरकारमा सहभागी भए प्रदेशमा आफ्नो पकड कमजोर हुने डरले अध्यक्ष लिङ्देनले सरकारमा जान रोकिरहेको दाबीसमेत गरे।
केन्द्रले आफूलाई कारबाही गर्न लागेको खबरबारे अनभिज्ञता प्रकट गर्दै थापाले आफू संसदीय दलको नेता रहँदासम्म पूर्वसहमतिअनुसार नयाँ गठबन्धन सरकारलाई नै समर्थन जारी रहने दोहोर्याए। यसअघि एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले संयुक्त रूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरिसकेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan