
हेटौंडा, ०९ कात्तिक/बंगालको खाडीमा विकसित भएको ‘दाना’ चक्रपातको सामान्य असर नेपालमा देखा परेको छ । नेपालको पूर्बी भेग कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी प्रदेशका केही भाग, मधेस, बागमती प्रदेशमा बादल लागेको छ ।
‘दाना’ चक्रपातको सबैभन्दा धेरै असर पश्चिम बंगाल, भारतको ओडिसामा पर्ने भएतापनि नेपालबाट यसको दुरी धेरै रहेकोले नेपालमा भने सामान्य असर देखिएको हो । शुक्रबारदेखि नै नेपालमा चक्रपातको असर कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
मौसमविद् झाका अनुसार बंगालको खाडी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेको थियो, त्यो चक्रपात बिस्तारै जमिनतर्फ प्रवेश गरिसकेको छ । समुन्द्रबाट बिस्तारै जमिनतर्फ प्रवेश गरेको चक्रपातको असर बिस्तारै कम हुँदै जान्छ । अहिले चक्रपात कमजोर अवस्थामा आइसकेकोले आज (शुक्रबार)देखि नै यसको प्रभाव कमजोर हुँदै जान्छ ।
नेपालमा ‘दाना’ चक्रपातको सामान्य असर परिसकेको हुँदा विभिन्न स्थानमा मौसम बदली भइरहेको छ । । अब चक्रपातको नेपालमा धेरै असर पर्ने अवस्था छैन । आज बदली भए पनि शनिबारबाट यसको प्रभाव कम हँुदै जान्छ ।
कोशी प्रदेशका केही स्थानमा वर्षा भए पनि ‘दाना’ चक्रपात नेपालभन्दा अलि पर भएकोले यहाँ त्यसको आंशिक प्रभाव मात्र रहेको छ ।
चक्रपातको असर घट्दै गइरहेको छ । मनसुन सकिए पनि नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण कतै कतै पानी पर्ने अवस्था अझै पनि रहने मौसमविद्हरुले जनाएकाछन् ।
यस्तो छ शनिबार र आईतबारको मौसम
जल तथा मौसम विज्ञान विभागका अनुसार भोली शनिवार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने कतै मौसम सफा रहने छ । पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै आइतबार कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि कतै मौसम सफा रहनेछ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan