थाहा नगरपालिकामा मोहनकुमार श्रेष्ठ नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर

शम्भु अधिकारी/थाहा नगर,

मकवानपुर थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।
थाहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको जिल्ला समन्वय समिति डोटीमा सरुवा भएपछि थाहाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चाँगुनारायण नगरपालिका भक्तपुरबाट सरुवा भई आएका मोहनकुमार श्रेष्ठ ११ कार्तिकमा हाजिर भएका हुन् ।
थाहा नगरपालिकामा एक कार्यक्रमकाबीच सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई थाहा नगरपालिकामा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा कर्मचारीहरुको उपस्थितीमा स्वागत गरिएको हो । स्वागत कार्यक्रमको अवसरमा नगर प्रमुख विष्टले थाहा नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयन नतिजामुखी बनाउन प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख विष्टले नगरपालिकाको योजना कार्यान्वयन तालिकालाई मसिनो ढंगले कार्यान्वयनमा कर्मचारीहरुलाई निर्देशन दिए ।
नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिकाले सुशासनलाई केन्द्रमा राखेर सेवा प्रवाह र विकासका काम गर्दै आएको बताउँदै अहिलेको साखलाई घट्न नदिई थप मजबुद बनाउन प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई अनुरोध गरे । उनले आफूहरुको कार्यकाल सकिन लागेपनि थाहाको पक्षमा सँधै सकारात्मक सन्देश जाने काम गर्न आग्रह गरे ।
थाहामा ११ कार्तिकमा मात्र हाजिर भएका प्रमुख प्रशासकीय श्रेष्ठले जनताको चाहना र नगरपालिकाको नीतिविधिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । नागरिकको सेवा प्रवाहलाई जहिल्यै सकारात्मक ‘रेस्पोन्स’ गर्न कर्मचारीहरुलाई निर्देशन दिए । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको ‘वृज’ भएको उल्लेख गर्दै सबै महाशाखा तथा शाखाबाट सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा अन्तर शाखा समन्वय गरी नतिजामुखी काम गर्नुपर्ने उल्लेख गरे ।
थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत महोनकुमार श्रेष्ठ, महाशाखा तथा शाखा प्रमुखहरु तथा पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यसअघि थाहा नगरपालिकाबाट जिल्ला समन्वय समिति डोटी सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई ९ कार्तिकमा ‘फेरि भेटौंला’ कार्यक्रम आयोजना गरी विदाई गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.