२२ घण्टामा सकियो एमाले नेतृत्व चयनको मतदान, ९८.०४ प्रतिशत मत खस्यो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको मतदान २२ घण्टापछि सम्पन्न भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ९८.०४ प्रतिशत हो । ३६ जना मतदाता भने मतदानमा अनुपस्थित रहे ।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुवातमै मतदान गरेका थिए भने नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका हुन् ।

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो । बन्दसत्र बिहान ७ः३० बजे सुरु हुने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्रै सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै अन्ततः पुस २ गते बिहान ९ः३० बजेबाट मतदान सुरु भएको थियो । प्राविधिक कारण देखाउँदै मंगलबार साँझ मतदान बुधबार बिहानका लागि सारिएको थियो भने निर्धारित समयभन्दा साढे एक घण्टा ढिलो मतदान सुरु भएको थियो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । त्यस्तै, महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।

नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायत रहेका छन् ।

यसअघि मङ्सिर २८ गते बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौ २० देखि २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनले गरेको निर्णय उल्टाउँदै केन्द्रीय कमिटीको आकार र पदाधिकारी संख्या पुनः निर्धारण गरेको थियो । विधान महाधिवेशनले केन्द्रीय कमिटी २५१ सदस्यीय, पदाधिकारी १५ जना र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।

अध्यक्ष ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ संरचना प्रस्ताव गरेअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको हो । यसपटक वरिष्ठ उपाध्यक्ष पद भने थप गरिएको छैन ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.