
हेटौंडा/ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष बिस्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि, न्यायपूर्ण वितरण र स्थानीय अर्थतन्त्रको सशक्तीकरणबाट सम्भव हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रगतिशील कर प्रणाली लागू गरी धनी,गरिबबीचको खाडल घटाउने, सामूहिक उत्पादनको प्रवर्द्धनमार्फत गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको चुनावी घोषणापत्र अनुसार स्थानीय स्रोत, सीप र श्रमको अधिकतम प्रयोग गर्दै उत्पादनमुखी स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ। साथै अनुसन्धान, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तार गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।
उम्मेदवार बिस्टले वैदेशिक लगानी आकर्षणका लागि पारदर्शी नीति, स्थिर शासन र लगानीमैत्री वातावरण सुनिश्चित गर्ने बताउँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्ने नीति लिने बताएका छन्।
आर्थिक पुनर्संरचना बिना सामाजिक न्याय सम्भव छैन,भन्दै उनले जनताको हातमा सत्ता, जनताको पक्षमा नीति भन्ने मूल मन्त्रका साथ मकवानपुर २ लाई समृद्धि र आत्मनिर्भरतातर्फ लैजाने दृढ संकल्प व्यक्त गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर मैदानमा उत्रिएका उम्मेदवार सन्तोष बिस्टले सुशासन, आर्थिक न्याय र समावेशी विकासलाई व्यवहारमै उतार्ने दाबी गरेका छन्।






युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan