
३१ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानिंयाले हेटौंडा बजारमा २५ मिटर सडक विस्तार हुनुपर्ने बताउनुभएको छ ।
हेटौंडा बजारको दिगो व्यवस्थापनको लागि २५ मिटर आवश्यक भएको उहाँको भनाई छ । मकवानपुर फर्निचर व्यवसायी संघको शनिबार भएको १९ औं साधारणसभा एवम् अधिवेशनमा बोल्नुहुँदै नगर उपप्रमुख बानिंयाले सडक विस्तारलाई लिएर राजनीति गर्न नहुने बताउनुभयो । सडक विस्तार हुँदै गर्दा व्यवसायीहरुको व्यवस्थापन र स्थायित्वको जिम्मा स्थानीय सरकारले लिने समेत उहाँले उल्लेख गर्नुभयो ।
उपमहानगरको कार्यबहाक मेयरको समेत जिम्मवारीमा रहनुभएका उहाँले व्यवसायीहरुलाई पलायन हुन नदिन निरन्तर रुपमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । २५ मिटर सडकको विस्तारमा घरधनी, व्यवसायी, राजनीतिक दल सबै एकजुट हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । नगर उपप्रमुख बानिंयाले दिनप्रतिदिन हेटौंडाको बजार कुरुप बन्दै गएको समेत बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठले सहज रुपमै स्थानीय सरकारबाट काठ उपलब्ध हुनुपर्ने बताउनुभयो । काठलाई सिधै निर्यात गर्न पाउने गरी वन ऐन संशोधन गर्न लागिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले दक्ष कामदार, प्रविधि र बजारको अभाव आफुहरुको मुख्य समस्या रहेको बताउनुभयो । युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा आफुहरु जनशक्तिको अभावमा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा रहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने, बागमती प्रदेश समिति अध्यक्ष शुभेन्द्र जोशी, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरि तिमल्सिना, तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्ण हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan