१० बोतल बराबर एक बिरुवा,वातावरण जोगाउने अभियान प्रभाबकारी बन्दै

हेटौंडा । वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा हरियाली विस्तारलाई एकैसाथ जोड्ने उद्देश्यले सञ्चालन गरिएको “बोतल देऊँ, बिरुवा लिऊँ” अभियान हेटौंडा,४ मा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–४ तथा न्युरेनी टोल विकास संस्थाको व्यवस्थापन र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीयवासीहरूले घरघरमा संकलन गरेका प्लास्टिकका बोतल बुझाएर फलफूलका बिरुवा प्राप्त गरेका थिए।
अभियानअन्तर्गत १० वटा प्लास्टिक बोतल बराबर एक वटा फलफूलको बिरुवा वितरण गरिएको थियो। कार्यक्रममा आँप, लिची, अम्बा, कागती लगायतका सयौं बिरुवाहरू वितरण गरिनुका साथै समुदायलाई प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेत गराइएको थियो।


स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताले अभियानप्रति समुदायको चासो र जिम्मेवारीबोध दुवै बढ्दै गएको देखिएको आयोजकहरूले बताएका छन्। जथाभावी फालिने प्लास्टिकका बोतललाई संकलन गरी पुनः व्यवस्थापनको प्रक्रियामा ल्याउनुका साथै प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने संस्कृतिको विकास गर्न कार्यक्रम सफल भएको जनाइएको छ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले वातावरणीय चुनौतीका रूपमा बढ्दै गएको प्लास्टिक प्रदूषण नियन्त्रणका लागि यस्ता व्यवहारिक अभियान प्रभावकारी माध्यम बन्ने बताउनुभयो। उहाँले सरकारी निकाय, सामाजिक संघसंस्था र नागरिकबीचको सहकार्यबाट मात्र स्वच्छ र वातावरणमैत्री समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
“हामीले फोहोरलाई समस्या होइन, अवसरको रूपमा हेर्ने प्रयास गरेका छौं। प्लास्टिकका बोतल संकलन गर्दै हरियाली विस्तार गर्ने यो अभियानले वातावरण संरक्षणसँगै नागरिकमा जिम्मेवारीबोध पनि बढाएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो।
उहाँका अनुसार अभियानका विभिन्न चरणमार्फत हालसम्म सयौं फलफूलका बिरुवाहरू वितरण भइसकेका छन् भने आगामी दिनमा कार्यक्रमलाई हेटौंडाका सबै वडामा विस्तार गर्ने योजना रहेको छ।
विगतदेखि नै सरसफाइ, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, महिला सशक्तीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको टोल विकास संस्था नगर समन्वय समितिले यस अभियानमार्फत वातावरणीय चेतना अभिवृद्धिमा थप टेवा पुगेको जनाएको छ।
“फोहोर होइन, स्रोतको रूपमा प्लास्टिकको व्यवस्थापन गरौं, बिरुवा रोपेर हराभरा भविष्य निर्माण गरौं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षणलाई समुदायको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.