
काठमाडौं, जेष्ठ ३०,/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा.अच्युतम लामिछानेलाई अत्यन्तै झिनो मतान्तरले पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे। दुवै उम्मेदवारबीच केवल २ मतको अन्तर रहँदा निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको थियो।
प्रदेश सभापति पदका लागि प्रारम्भमा पाँच जनाले उम्मेदवारी दिएका थिए। तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। सभापति पदका लागि निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रदेश प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरिबहादुर खत्री (रामेछाप) चुनावी मैदानमा उत्रिएका थिए।
कडा प्रतिस्पर्धाका बीच उत्सव अर्यालले विजय हासिल गर्दै बागमती प्रदेशमा रास्वपाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
रास्वपाका केन्द्रीय संगठन विभागका उपप्रमुख कृष्णमान श्रेष्ठ का अनुसार सभापति पदको नतिजा सार्वजनिक भए पनि अन्य पदाधिकारीहरूको चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया जारी रहेको छ।
प्रदेश अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले बागमती प्रदेशमा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचन केन्द्रित रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan