
हेटौंडा,५ मा अवस्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक भेला बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा मीना कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयले सञ्चालन गरेका विभिन्न आन्तरिक तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
विद्यार्थीहरूले सांगीतिक प्रस्तुति, विज्ञान प्रदर्शनी तथा नाटक मञ्चनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
गत एसईई परीक्षामा ‘ए प्लस’ ग्रेड हासिल गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो भने ‘ए’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ।
अभिभावक दिवसको अवसर पारेर विद्यालयका सक्रिय अभिभावक तथा शिक्षकहरूलाई समेत कदरपत्र प्रदान गरिएको थियो।
त्यसै अवसरमा सञ्चारकर्मी तथा लालखबर डटकमका सम्पादक राज कुमार के.सी.लाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर,५ का अध्यक्ष सुशील घिमिरे, विद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, व्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्याल, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, नेपाल पत्रकार महासङ्घ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ज्ञानदीप शिक्षा निकेतनकी व्यवस्थापन समिति अध्यक्ष रमिला सापकोटा, तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको आतिथ्यता रहेको थियो।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म १ हजार १५ जना विद्यार्थी अध्ययनरत छन् भने ६० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।
विद्यालयले ४५ वर्षे शैक्षिक यात्रामा शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गर्दै मकवानपुर जिल्लामा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताइएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan