पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष मगर


चितवन, असार १६,२०८३ बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा चितवनको सौराहामा सम्पन्न ‘संस्कृति तथा पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा सञ्चारकर्मीको भूमिका’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिइएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले बागमती प्रदेश कला, संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न प्रदेश भएकाले प्रभावकारी प्रचारप्रसारमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए। पर्यटन स्थानीय रोजगारी सिर्जना,आय वृद्धि र समग्र आर्थिक समृद्धिको प्रमुख आधार भएकाले सञ्चार माध्यमले यसको सम्भावना उजागर गर्न सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले चितवनलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, पर्यटन सूचना केन्द्र सञ्चालन तथा ‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ अवधारणाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज श्रेष्ठले प्रदेश सरकारको लगानी पर्यटन क्षेत्रको विकासका लागि सकारात्मक रहेको बताए। संघका महासचिव महेश खनालले सामुदायिक वनसँगको सहकार्यमा आगामी साउन १ गतेदेखि ‘नाइट जीप सफारी’ सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
दुईदिने कार्यशालामा वरिष्ठ पत्रकार अशोक सिलवाल र देवराज पन्तले पर्यटन पत्रकारिता, गन्तव्य प्रवर्द्धन तथा पर्यटनसम्बन्धी समाचार लेखनका विविध पक्षमा सहजीकरण गरेका थिए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आफ्ना गाउँ–ठाउँका मौलिक सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई समाचार, लेख, भिडियो तथा अन्य सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै पर्यटन विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अन्तरक्रियामा चितवन, मकवानपुरलगायत बागमती प्रदेशका विभिन्न जिल्लाबाट २० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.