
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा शनिबार सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट ६ सयभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह-आयोजना,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोग सम्बन्धी विशेषज्ञ परामर्शसँगै ईसीजी, इको, भिडियो एक्स–रे, छातीको एक्स–रे, पीएफटी (दम परीक्षण), सुगर तथा लिपिड प्रोफाइल परीक्षण, पाठेघर तथा पाठेघरमुखको क्यान्सर परीक्षण लगायतका सेवा निःशुल्क उपलब्ध गराइएको थियो। आवश्यक परेका बिरामीलाई औषधि वितरणसमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकार गुणस्तरीय स्वास्थ्य सेवा जनस्तरसम्म पुर्याउन निरन्तर प्रयासरत रहेको बताउनुभयो। यस्ता शिविरले रोगको समयमै पहिचान गर्न सहयोग पुग्नुका साथै स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
वडा अध्यक्ष नवीन सिग्देलले नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न जनहितकारी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। शिविरमा उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण नागरिकप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रम व्यवस्थापक तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न शिविरले समुदायलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकको निष्कर्ष रहेको छ।
आयोजक संस्थाहरूले आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा केन्द्रित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan