
हेटौंडा । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ नेता विरोध खतिवडा उम्मेदवार नबन्ने भएका छन्। नेकपा मकवानपुरले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उनको नाम सिफारिस गरे पनि खतिवडाले निर्वाचनमा नउठ्ने स्पष्ट पारेका हुन्।
मंगलबार हेटौंडा उपमहानगरपालिका,४ स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खतिवडाले दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोप्रति पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै भने,
म निर्वाचनमा उठ्दिनँ, पार्टीले अघि सारेका अन्य साथीहरूलाई पूर्ण सहयोग गर्छु।
उनलाई उद्धृत गर्दै नेकपाका एक जिल्ला नेताले भने,
पार्टीले जसलाई उम्मेदवार बनाउँछ, म त्यसको पक्षमा सक्रिय भएर लाग्नेछु भन्ने प्रतिबद्धता खतिवडाले व्यक्त गर्नुभएको छ।
राजनीतिक रूपमा लामो अनुभव बोकेका खतिवडा राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभासम्म पुगेका नेता हुन्। उनी मकवानपुरबाट ६ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए,जसमा ४ पटक विजयी हुन सफल भएका छन्।
२०४३ सालमा नेकपा मालेको तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा पहिलोपटक चुनाव लडेका खतिवडा पराजित भएका थिए। त्यसपछि २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले सफलता हासिल गरेका थिए।
एमाले विभाजनपछि तत्कालीन एकीकृत समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री बनेका खतिवडा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका खतिवडा प्रखर वक्ता र अनुभवी नेताका रूपमा परिचित छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan