
नेपालभर जार तथा बोतलका पिउने पानी तथा पानीजन्य वस्तु उत्पादन गर्ने उद्योगीहरूको छाता संगठन नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको गोदावरीमा साधारण सभा सम्पन्न भएको हो।
नेपालको पिउने पानी आपूर्ति तथा व्यवस्थापन क्षेत्रको शीर्ष निकायका रूपमा स्थापित महासंघको वार्षिक साधारण सभा अध्यक्ष बिक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेल रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व संघीय सांसद नवराज सिलवाल तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना बैद्य जोशी सहभागी थिए। त्यस्तै उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा महासंघका सल्लाहकार भरत आचार्यलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री पौडेलले गरेका थिए। सभामा संघका सदस्य संस्था तथा पानी विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देशभरका पानी आपूर्ति, शुद्धीकरण, वितरण तथा व्यवस्थापनका चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मधुसुधन पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै पानी उद्योगलाई व्यवस्थित, जिम्मेवार र गुणस्तरीय बनाउन सरकार सहकार्यका लागि तयार रहेको बताए। उनले उद्योगीहरूको लगानी सुरक्षित हुने नीति निर्माण, गुणस्तर मापदण्ड कार्यान्वयन तथा दिगो पानी स्रोत व्यवस्थापनमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गरे।
सभामा महासंघका अध्यक्ष बिक्रम लिम्बु चेम्जोङले महासंघको वार्षिक प्रगति, नीतिगत पहल तथा दिगो पानी व्यवस्थापनका लागि गरिएका रणनीतिक कदमहरू प्रस्तुत गरे। उनले प्रविधि, नवीनता र आपसी सहकार्यको माध्यमबाट देशभर स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको बताए।
प्रथम साधारण सभाले अध्यक्ष चेम्जोङको नेतृत्वमा आगामी तीन वर्षका लागि ३५ सदस्यीय निर्वाचित तथा ४ जना मनोनित गरी ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सभाबाट वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, महासचिवमा ध्रुब प्रसाद अधिकारी र उप–महासचिवमा रोसा श्रेष्ठ निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा क्रमशः रविन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रूपचन्द्र नौलाखा, शाहिल शाह, भुवन प्रसाद लोहनी, सबि कार्की, कृष्ण प्रसाद आचार्य र टेकेन्द्र सिंह कुन्जेडा निर्वाचित भएका छन्। कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएका छन्।
सदस्यहरूमा गोकुल बहादुर थापा, जितेन्द्र दाहाल, नारायण गिरी, प्रमोद कुमार शाह, सहदेव बोलखे, सौरभ मारु, पदम बहादुर राउत, चिन्तामणि भुषाल, अविनाश थानी, जीवन घिमिरे, राम सुवाल, अमराज लामा, राम बराल, दिनेश भट्टराई, राजेश खनाल, बिक्रम मण्डल, अनिल आचार्य, कृष्ण कुँवर, टक शारु मगर, शरद प्रसाद रिजाल, विशाल विष्ट र श्रवण थापा निर्वाचित भएका छन्। त्यस्तै विनय श्रेष्ठ, सुदिपमान सिंह बस्नेत र रक्की तामाङलाई सदस्यमा मनोनित गरिएको छ भने एक जना सदस्य मनोनित गर्न बाँकी रहेको महासंघले जनाएको छ।

सभामा महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभाबाट प्राप्त एकता र विश्वासलाई संस्थागत सुदृढीकरणमा केन्द्रित गरिने बताए। उनले पानी उद्योगसँग सम्बन्धित नीतिगत र व्यवहारिक समस्या समाधानका लागि महासंघले सरोकारवाला निकायहरूसँग समन्वयलाई निरन्तरता दिने उल्लेख गरे।
विशेष अतिथि डा. मतिना बैद्य जोशीले उद्योगीहरूको व्यावसायिकता अभिवृद्धि गर्न विभाग सधैं सहयोगी रहने बताइन्। उनले पानी उत्पादनका नाममा हुने लापरबाहीलाई कानुनले छुट नदिने स्पष्ट पार्दै गुणस्तर र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता हुन नहुने धारणा राखिन्।
साधारण सभाले महासंघको वित्तीय विवरण तथा आगामी कार्ययोजना सर्वसम्मत रूपमा पारित गर्नुका साथै आवश्यकता अनुसार नयाँ जिम्मेवारी थपघट गर्ने विशेष नीति समेत स्वीकृत गरेको छ। सभामा देशभरका २३ भन्दा बढी जिल्लाबाट पानी उद्योगीहरू प्रतिनिधिका रूपमा सहभागी भएका थिए।
महासंघले प्रथम साधारण सभाबाट प्राप्त सहमति र प्रतिबद्धताका साथ देशभर सुरक्षित, स्वच्छ र गुणस्तरीय पिउने पानी आपूर्ति तथा दिगो पानी व्यवस्थापनको अभियानलाई थप सशक्त रूपमा अगाडि बढाउने जनाएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan