
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक यही पौष १ र २ गते काठमाडौँमा सम्पन्न भएको छ । बैठकले देशको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थासँग सम्बन्धित १५ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
बैठकले नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा पछिल्लो जेन–जी आन्दोलनसम्मका सम्पूर्ण महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शबाट निरन्तर प्रेरणा लिने संकल्प व्यक्त गरेको छ ।

पारित प्रस्तावमा घोषित फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न गर्न उपयुक्त वातावरण तत्काल निर्माण गर्न सरकारसँग माग गरिएको छ । साथै, विदेशमा रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, नेपालभित्रै अन्य जिल्ला वा निर्वाचन क्षेत्रमा रहेर आफ्नै मतदान केन्द्रमा पुग्न नसक्ने मतदातालाई आफू रहेको स्थानबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ ।
बैठकले १८ वर्ष उमेर पुगेपछि मताधिकार प्राप्त हुने कानुनी व्यवस्था भएकाले सोही उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
निर्वाचन परिचालन तथा वार्ता–संवाद समिति गठन गर्दै जनार्दन शर्माको संयोजकत्वमा सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत विन, लक्ष्मी गुरुङ र घमान सिंह गुरुङ (जिएस) लाई सदस्य तोकिएको छ ।
लोकतन्त्रको आवरणमा मौलाएको भ्रष्टाचार, नेतातन्त्र र दण्डहीनताको अन्त्यका लागि आगामी निर्वाचनबाटै उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार (राइट टु रिजेक्ट) तत्काल लागू गर्नुपर्ने माग प्रस्तावमा समावेश गरिएको छ ।
सुशासन सुदृढ गर्न भ्रष्टाचारजन्य गतिविधिमा संलग्न व्यक्ति तथा संरचनामाथि कडा कारबाही गर्दै भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरणको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ ।
महिला हिंसा, दलित तथा जातीय विभेदलाई मानवअधिकारविरोधी र दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै यस्ता घटनामा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्न तथा यस्ता घटना रोक्न राज्यले प्रभावकारी सुनिश्चितता गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
हरेक वर्ष मधेस क्षेत्रमा देखिने शीतलहरबाट हुने धनजनको क्षति रोक्न सरकारले समयमै पूर्वतयारी गर्नुपर्ने भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ ।
ग्रिस, स्पेनलगायत युरोपेली मुलुकमा हजारौँ नेपाली कामदार तस्करी गरी पुर्याइएको र उनीहरू दाससरह श्रम गर्न बाध्य भएको विषयप्रति ध्यानाकर्षण जनाउँदै, त्यहाँ रहेका नेपाली कामदारको तत्काल उद्धार गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
सहकारी पीडित नागरिकको पाँच लाख रुपैयाँसम्मको बचत सरकारले क्षतिपूर्ति स्वरूप तत्काल उपलब्ध गराउनुपर्ने र राजनीतिक संरक्षणमा रहेका सहकारी, मिटरव्याजी तथा लघुवित्त ठगहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग पनि प्रस्तावमा गरिएको छ ।
जेन–जी र सरकारबीच भएको ऐतिहासिक सम्झौतालाई पार्टीले स्वागत गर्दै त्यसको कार्यान्वयन प्रक्रिया तत्काल सुरु गर्न जोडदार माग गरेको छ ।
खेलकुदतर्फ, दोस्रो संस्करणको नेपाल क्रिकेट प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्स तथा उपविजेता सुदूरपश्चिम टोलीलाई हार्दिक बधाई दिँदै आगामी विश्वकपमा नेपाली टोलीको सफलताको कामना व्यक्त गरिएको छ ।
बैठकले समग्र राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धिसँग जोडिएका गम्भीर समस्याको समाधान पुराना भ्रष्टाचारग्रस्त पार्टीहरूबाट सम्भव नभएको ठहर गर्दै वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच सहकार्य र ध्रुवीकरण गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्न पहल गर्न आव्हान गरेको छ ।
२ पौष २०८२, काठमाडौँ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan