
११ औं उद्योग दिवसको अवसरमा मंसिर १० गते बागमती प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट उद्यमी तथा नवउद्यमीलाई विशेष सम्मान गरेको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका ३४ जनालाई छनोट गरी सम्मान प्रदान गरेको हो।
यस वर्ष नुवाकोटको चिया कृषि फर्मका सेलकर तामाङ ‘सर्वोत्तम उद्यमी’ घोषित भएका छन्। साथै, थाहा नगरका ज्योति दामन कृषि फर्म, दमना बनेपाको नमुना एग्रो प्रोडक्स, दोलखाको फ्लेक्सी मौरी फर्म,भक्तपुरको चम्पक पाउडर उद्योग, काठमाडौंको द हाइल्याण्ड आर्ट फेशन डिजाइन एन्ड ट्रेनिङ सेन्टर, सिन्धुपाल्चोकको जोडाँडा ढाका उद्योग, रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्मलगायत नौ उद्योगहरू उत्कृष्ट फर्मकै रूपमा सम्मानित भएका छन्।
उत्कृष्ट फर्ममा परेका अन्य उद्योगमा ललितपुरको स्पेसन पुष्कारी उद्योग, नुवाकोटको नमुचेत्त कृषि फर्म, मकवानपुरको ज्योति दामन कृषि फर्म, रामेछापको हिमालयन ह्याण्डिक्राफ्ट एग्रो फर्म, सिन्धुलीको उज्ज्वल साबुन उद्योग, धादिङको पवित्रा कृषि तथा पशुपन्छी फर्म, र भरतपुरको अर्बन नेस्ट बुटिक एन्ड रेन्टल हाउस रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेशमा दिगो उद्यमशिलता विकास, रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्यमहरूलाई हरेक वर्ष सम्मान गरिँदै आएको छ। यसपटक सर्वोत्तम उद्यमीलाई १ लाख रुपैयाँ, भने अन्य ३३ उत्कृष्ट उद्यमीलाई ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको उद्योग वाणिज्य महाशाखा प्रमुख महेश पौडेलले जानकारी दिए।
थाहा नगरका ज्योति रायमाझी ‘उत्कृष्ट नवउद्यमी’
मकवानपुर–थाहा नगरपालिका वडा नं. ४ का कृषि उद्यमी ज्योति रायमाझी यस वर्ष ‘उत्कृष्ट नवउद्यमी’ सम्मानबाट विभूषित भएका छन्। उनीद्वारा संचालित ज्योति दामन कृषि फर्मले स्थानीयस्तरमा सब्जी, फलफूल तथा कृषि उत्पादनको आधुनिकीकरण, फर्म व्यवस्थापन, रोजगारी सिर्जना र बजार विस्तारमा उल्लेखनीय काम गर्दै आएको छ।
प्रदेश सरकारले प्रदेशभरका १४ जना उत्कृष्ट नवउद्यमीलाई मंसिर १० गते विशेष कार्यक्रममार्फत सम्मान गर्ने तयारी गरेको छ।
बागमती प्रदेशका विविध जिल्लामा सक्रिय उद्यमीहरूले स्थानीय अर्थतन्त्र, रोजगारी वृद्धि र उत्पादनमा आत्मनिर्भरता बढाउन योगदान पु–याइरहेका सन्देशसहित यस वर्षको उद्योग दिवस प्रदेशभर उच्च उत्साहका साथ मनाइने भएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan