
७ मंसिर, काठमाडौं / नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै नयाँ राजनीतिक यात्रामा होमिएका जनार्दन शर्माले प्रचण्ड नेतृत्वलाई प्रत्यक्ष चुनौती दिंदै ‘मठाधीशीय प्रवृत्ति’ ले पार्टी निष्क्रिय बनेको आरोप लगाए। राजधानीमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा शर्माले अब आफूहरू धुपबत्ती बोकेर मठाधीशहरूको अगाडि उभिन नहुने निर्णयसँगै नयाँ पार्टी गठन गरेको स्पष्ट संदेश दिए।

शर्माले भने,सामन्तवादको सिंहासन ढालेर गणतन्त्र ल्याएको हाम्रो पुस्तालाई आज फेरि पार्टीभित्रकै मठाधीशहरूको पूजा गर्ने भूमिकामा सीमित पारियो। त्यसैले हामी नयाँ राजनीतिक संरचना निर्माण गर्न निस्किएका छौं।
घोषणा सभामा उनले मानव विकास, विश्व राजनीति, मुलुकको वर्तमान अवस्थादेखि लिएर जेन-जेड पुस्ताको विद्रोही चेतसम्मलाई समेटेर विस्तृत विश्लेषणात्मक घोषणापत्र प्रस्तुत गरे।
उनका अनुसार, विगतका आन्दोलनहरूको बहादुरी, बलिदान र जनआकांक्षालाई बिर्सने प्रवृत्तिले आजको राजनीति दिशाहीन बनेको छ, र त्यसकै विकल्पस्वरूप प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो।

शर्माले जोड दिए,हाम्रो उद्देश्य अरू केही दर्जन दलमाथि अर्को दल थप्नु वा केही नेता उत्पादन गर्नु होइन। हाम्रो लक्ष्य हो आजको विकृत,कमजोर र निराशाजनक राजनीति सुधारेर आर्थिक,राजनीतिक र सांस्कृतिक रूपमा सुदृढ,समतामूलक राष्ट्र निर्माण गर्ने।
नयाँ पार्टीले २०८२ सालमै ‘राजनीतिक पुनःसंरचना सम्मेलन’ आयोजना गर्ने घोषणा गरेकोछ। देशभरका बुद्धिजीवी,विज्ञ,जातजाति,भूगोल र वर्गका प्रतिनिधिलाई सहभागी गराई मुलुकका आधारभूत राजनीतिक संरचनामा पुनःआलेख तयार गर्ने पार्टीको तयारी छ।

यस सम्मेलनबाट संविधान संशोधन,शासकीय स्वरूप,निर्वाचन प्रणालीको पुनर्संरचना,
राइट टु रिजेक्ट (अस्वीकारको अधिकार),
प्राइमरी इलेक्सन,लोकतन्त्रको समृद्धिकरण
जस्ता मूल मुद्दामा गहिरो बहसपछि ठोस निष्कर्ष निकालिने उनले स्पष्ट गरे।
शर्माले अन्त्यमा भने राजनीतिक नेतृत्व दिशाहीन हुँदा समाज, संस्कृतिदेखि अर्थतन्त्रसम्म कमजोर हुन्छ। त्यसैले हाम्रो प्रमुख कार्यभार हो गतिहीन राजनीतिको पुनःसंरचना र सक्षम राष्ट्र निर्माण।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan