नेकपाका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धिताल द्वारा राजीनामाको घोषणा

काठमाडौं, मंसिर ५, तीन दशकदेखि नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका माओवादी पार्टीका महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धितालले पार्टी पद तथा जिम्मेवारीबाट राजीनामा घोषणा गरेका छन्।

शहरी आन्दोलन, लेखन, युद्ध मोर्चा, शान्ति प्रक्रिया, चुनावी मोर्चादेखि प्रवाससम्म सक्रिय भूमिका निभाएका धितालले प्रचण्ड नेतृत्वप्रति आभार सहित अबको राजनीतिक यात्रामा भने आफू त्यही स्थानमा रहन नैतिक र राजनीतिकदृष्टिले सम्भव नरहेको टिप्पणी गरेका छन्।

धितालका अनुसार वि.सं. २०७९ को आम निर्वाचनपछि बनेको ‘अप्राकृतिक गठबन्धन’, शीर्ष नेतृत्वको निरन्तर सत्ता मोह, र क्रान्तिकारी आन्दोलनबाट विचलनले नै पार्टीप्रतिको विश्वास खोसेको हो। उनले भने जनयुद्ध, शान्ति प्रक्रिया र नयाँ संविधानका यात्रामा निर्णायक भूमिका खेलेका नेतृत्व अहिले ससानो गुट स्वार्थ र सत्ता खेलमा सीमित भए।

उनले अहिलेको माओवादी केन्द्रलाई परिवारवाद, नातावाद, कृपावाद, भ्रष्टाचार र गुटगत स्वार्थको संगम थलो” भएको आरोप लगाउँदै पार्टीभित्र सुधारको कुनै सम्भावना नरहेको उल्लेख गरेका छन्।

विशेष महाधिवेशनमार्फत बोल्सेभिक चेत भएका युवाहरूलाई अगाडि ल्याउने अवसर गुमेको र थाकेको मेन्सेभिक समूह’ लाई अगाडि राखेर नयाँ नेतृत्व निर्माणको मार्ग नै बन्द गरिएको धितालको आरोप छ।

धितालले युवा पुस्ताको क्रान्तिकारी चेत, जेनजी आन्दोलन र बदलिँदो राजनीतिक परिदृश्यले पुरानै मोडलमा टिकेर केही हासिल नहुने भन्दै राजनीतिक पुनर्संरचनाको आवश्यकतामा जोड दिएका छन्।

उहाँले भनेका छन, पार्टीले जनयुद्धको मूल मर्म परित्याग गरिसकेको छ। यस्तो दक्षिणपन्थी झुकाव भएको संरचनाभित्र बसेर सुधार सम्भव छैन।

कर्णाली, मधेश, मगरात, थारु, तामाङ, किरात, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका मूल मुद्दा पनि वर्तमान नेतृत्वको प्राथमिकतामा नरहेको धितालको आरोप छ।

धितालले तीन दशकको सहकार्य अन्त्य गर्दा भावुक लागेको तर शून्यबाट नयाँ राजनीतिक मार्ग निर्माणको यात्रामा उभिनु गर्वको कुरा भएको बताएका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.