
बाल ज्योति आधारभूत विद्यालयले बाँझो जग्गामा धानखेती, शिक्षासँगै उत्पादनमा पनि जोड
बागमती गाउँपालिका–७, लामिटार ।
बागमती गाउँपालिका–७ लामिटारस्थित श्री बाल ज्योति आधारभूत विद्यालयले लामो समयदेखि बाँझो रहेको विद्यालयको जग्गामा यस वर्ष आकर्षक धान उत्पादन गरी उदाहरणीय काम गरेको छ। विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकको सामूहिक श्रमदानबाट विद्यालय परिसर नजिकै रहेको लामिटार फेदीको बाँझो जग्गामा धान खेती गरिएको हो।
विद्यालयले विगत केही वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गालाई उत्पादनमुखी बनाउन ‘शिक्षासँगै श्रम र उत्पादन’ भन्ने मूल नाराका साथ कृषि गतिविधि थालेको हो। विद्यालयले शिक्षालाई व्यवहारिक सीपसँग जोड्न सकिन्छ भन्ने सन्देश दिन यस किसिमको पहल गरेको बताइएको छ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिर्जना गोलेले विद्यालयले विद्यार्थीमा श्रमप्रतिको सम्मान र आत्मनिर्भर सोच विकास गर्न चाहेको बताइन्। उनका अनुसार विद्यालयले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक शिक्षासँग जोड्ने लक्ष्य लिएको छ।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक दुर्गबहादुर थापाले विद्यालय समुदायको सामूहिक प्रयासले बाँझो जग्गा हरियाली धान खेतमा परिणत भएको बताए। उनका अनुसार यसबाट प्राप्त आम्दानी विद्यालयको कोषमा समावेश गरिने र आगामी वर्षहरूमा पनि कृषि कार्यलाई निरन्तरता दिइने योजना बनाइएको छ।
यस प्रकारको उत्पादनमुखी पहलले विद्यालय तथा समुदायबीचको सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीहरूमा श्रमको मूल्य बुझाउने अपेक्षा विद्यालय परिवारले गरेको छ्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan