
थाहा नगरपालिका, पालुङ (विशेष संवाददाता) – पालुङ जेसीजको आयोजनामा तथा ईलाका प्रहरी कार्यालय, पालुङको सहकार्यमा “साइबर क्राइम सम्बन्धी विशेष सचेतना प्रशिक्षण” कार्यक्रम जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता पालुङ जेसीज २०२५ का अध्यक्ष जेसी माधव कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बलज्यू रहनुभएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक रुक्सा बज्राचार्यज्यू प्रमुख प्रशिक्षकका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष अजित कार्कीले गर्नुभएको थियो। त्यसपछि जेसीज आस्था पाठ उपाध्यक्ष बिकेश बाबु बस्नेतले प्रस्तुत गर्नुभएको थियो।

मुख्य प्रशिक्षक प्रहरी निरीक्षक रुक्सा बज्राचार्यज्यूले साइबर अपराध के हो, कसरी हुन्छ, यसका कानुनी व्यवस्था र दण्ड–जरिवानाका प्रावधानबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इमेल, अनलाइन माध्यम आदि) प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने, अनलाइन ठगी र दुरुपयोगबाट कसरी जोगिने तथा पीडित भएमा कहाँ उजुरी गर्ने भन्ने व्यावहारिक जानकारी समेत दिनुभयो।
कार्यक्रममा पालुङ जेसीजका पूर्वअध्यक्ष मनोज रायमाझी, बोर्डका पदाधिकारी, विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ का सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सभाध्यक्ष माधव कार्कीले हाल डिजिटल युगमा सञ्चार माध्यमको सही प्रयोग नगर्दा विभिन्न समस्या र अपराध बढ्दो क्रममा रहेको बताउँदै यस्ता सचेतना कार्यक्रमहरूले विद्यार्थी र अभिभावकलाई सचेत बनाउन ठूलो सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विद्यालय प्रशासन, प्रहरी कार्यालय तथा सबै सहभागीहरूलाई पालुङ जेसीजले धन्यवाद ज्ञापन गरेको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan