
मकवानपुर, थाहा — लामो समयदेखि माग गरिएको थाहा बसपार्क अखेर सञ्चालनमा आएको छ। थाहा नगरपालिका–४ नार्खुढाँडमा निर्माणाधीन बसपार्क आज (कार्तिक १९ गते)देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। शिखरकोट बजार क्षेत्रको मुख्य सडकमार्गमै सवारी साधन सञ्चालन हुँदा बढ्दै गएको दुर्घटनाको जोखिम, पार्किङको समस्या र अव्यवस्थित यातायात व्यवस्थापनका कारण स्थानीय युवाहरूले लामो समयदेखि दवाब दिइरहेका थिए। अन्ततः सोही दवाब र निरन्तर पहलपछि थाहा नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो।
आज एक औपचारिक समारोहका बीच थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवा शुभारम्भ गर्दै बसपार्क सञ्चालनको सुरुवात गरे। कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष नारायण लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।
🔹 नगर प्रमुख बिष्ट : “ठेकेदारको ढिलासुस्तीका कारण बसपार्कले पूर्णता पाउन सकेन”
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख विष्णु बिष्टले बसपार्क सञ्चालन कार्यविधिअनुसार गरिएको बताउँदै यस कार्यमा स्थानीय युवाहरूको योगदान उल्लेखनीय रहेको बताए। उनले भने,
“थाहा बसपार्क निर्माण लामो समयदेखि जारी थियो, तर ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न हुन सकेन। अब बाँकी भौतिक संरचना छिटो सम्पन्न गर्न संघीय सरकारलाई घच्घच्याउनेछौं।”
नगर प्रमुख बिष्टले बसपार्कको सञ्चालनबाट शिखरकोट बजार क्षेत्रमा सवारी व्यवस्थापनमा सहजता आउने र दुर्घटनाको जोखिम घट्ने विश्वास व्यक्त गरे। साथै उनले स्थानीय युवाहरूको सुझाव र मागलाई ध्यानमा राख्दै बसपार्क सञ्चालनको निर्णयमा नगरपालिका पुगेको स्पष्ट पारे।
















युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan