
काठमाडौं । प्रेस सेन्टर नेपालको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सञ्चार माध्यमका सम्पादकबीच संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, संविधान र लोकतन्त्रको संरक्षण, आगामी निर्वाचन र राष्ट्रिय सहकार्यको आवश्यकता लगायत विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।
उहाँले जेनजी आन्दोलनलाई लोकतान्त्रिक चेतनाको संकेतका रूपमा लिँदै राजनीतिक दलले युवाको असन्तोषलाई सुधारको सन्देशका रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । ‘असन्तुष्टि दमन होइन, संवाद र सहमतिले सम्बोधन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
संविधानलाई स्थिरता र समृद्धिको जग बनाउनुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिक दलबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई जनविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा लिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सञ्चार माध्यमप्रति आभार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई सबल बनाउने बताउनुभयो । उहाँले युवापुस्ताको क्षमतालाई देशभित्र उपयोग गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, विभिन्न सञ्चार संस्थाका सम्पादक, युवा पत्रकार र मिडिया प्रतिनिधिको उपस्थिति थियो ।






युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan