
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ। बैठकमा आगामी निर्वाचनको तयारी, प्रक्रिया र राजनीतिक सहमतिको सम्भावनाबारे विस्तृत छलफल भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र उनका सबै मन्त्रीहरूलाई समेत छलफलमा आमन्त्रण गरेका छन्।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन उपस्थित छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्।
जनता समाजवादी पार्टीकी नेतृ रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, साथै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष सुनिल प्रजापति पनि छलफलमा सहभागी छन्।
राष्ट्रपतिले निर्वाचनसम्बन्धी साझा दृष्टिकोण तयार पार्न सबै दलको सुझाव संकलन गर्ने उद्देश्यले बैठक आह्वान गरेको बताइएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan