
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भित्रको Gen Z पुस्ताको सक्रियरूपमा क्रियाशील कार्यकर्ताहरूले पार्टीको नेतृत्व तहमा न्यूनतम २५% प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएका छन्।

Gen Z समूहले बुझाएको मागपत्रमा पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरूमा कम्तीमा २५% प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ। मागपत्रमा भनिएको छ, “देशको वर्तमान र भविष्य निर्माणमा निर्णायक भूमिका खेल्ने पुस्ता Gen Z हो, तर पार्टी संरचनामा आवश्यक प्रतिनिधित्व नपाएको कारण उनीहरूको ऊर्जा, सिर्जनशीलता र विचारलाई उपयोग गर्न सकिएको छैन।”
Gen Z समूहले पार्टी विधानमा आवश्यक संशोधन गरी कोटाको व्यवस्था गर्नुपर्ने, सबै तहका नेतृत्व चयन प्रक्रियामा २५% आरक्षण सुनिश्चित गर्नुपर्ने र नेतृत्व विकास, प्रशिक्षण तथा ‘मेंटरसिप’ कार्यक्रमलाई संस्थागत बनाउनुपर्ने माग राखेको छ।
मागपत्रमा डिजिटलाइजेसन, नवीनतम प्रविधि, सञ्चार र संगठन निर्माणका नयाँ तरिकामा Gen Z को भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, पार्टीलाई समयअनुकूल अगाडि बढाउन युवा पुस्ताको सहभागिता बढाउनु जरुरी भएको प्रष्ट पारिएको छ।
Gen Z समूहले बुझाएको माग केवल कोटा नभई पार्टीको सुदृढीकरण, लोकतान्त्रिक अभ्यासको सबलीकरण र दीर्घकालीन संगठनात्मक विकासका लागि महत्वपूर्ण पहल हुने विश्वास व्यक्त गरिएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan