संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान निर्माणका क्रममा माओवादीले राखेको फरक मतलाई अहिले सम्बोधन गर्ने समय आएको बताए ।

उनले भने, “हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए । १० वर्षपछि पुनः संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।”

त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका प्रश्नलाई सम्बोधन गर्नुपर्ने धारणा राखेको स्मरण गर्दै प्रचण्डले अहिलेको आन्दोलनले ती मागलाई पुष्टि गरिदिएको बताए ।

उनले ठूला भनिएका कांग्रेस र एमालेले संविधानमार्फत ती विषयलाई सम्बोधन हुन नदिएको आरोप लगाउँदै भने, “यदि संविधान बनाउँदा नै ती विषय समेटिएको भए आजको परिस्थिति आउने थिएन । जेनजीले आन्दोलन गर्नु पर्ने थिएन । यति ठूलो क्षति हुने थिएन ।”

राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अपरिहार्य भएको दोहोर्‍याउँदै प्रचण्डले अहिलेका ठूला दलहरुको अहंकारकै कारण मुलुक आजको संकटमा फसेको टिप्पणी गरे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.