
काठमाडौं, २०८२ भदौ ३१ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई दिंदै आगामी दिनमा मुलुकलाई शान्ति, स्थिरता र निकास दिन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
भेटमा देशको विकसित घटनाक्रम, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको थियो। सो क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय सङ्कट समाधानका लागि सबै राजनीतिक दल र निकायबीच सहकार्य अपरिहार्य हुने बताउनुभयो। उहाँले राष्ट्रिय सभाको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै शान्ति, स्थिरता र समावेशी सहकार्यबाट मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिनेमा जोड दिनुभयो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan