नेकपा (माओवादी केन्द्र) को आधिकारिक धारणा

मिति : २०८२ भदौ २६ गते
प्रचण्ड – अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

जेन-जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदायप्रति श्रद्धा, संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै हाम्रो पार्टीको धारणा यसप्रकार छ :

१. आन्दोलन र दमन

सुशासन र सामाजिक न्यायको पक्षमा उठेको जेन-जी आन्दोलन सही थियो।

सरकारको बर्बर दमन र नरसंहारप्रति गहिरो खेद प्रकट गर्दछौं।

सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

२. हिंसा र तोडफोड

संसद, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवासलगायतका संरचना तोडफोड र आगजनी जेन-जी आन्दोलनकारीको काम होइन।

यी घटनामा प्रतिगामी तत्वहरूको घुसपैठ भएको स्पष्ट देखिन्छ।

घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्छ।

३. सरकारको विफलता

गठबन्धन सरकारले भ्रष्टाचारलाई संरक्षण दियो, सामाजिक सञ्जाल प्रतिबन्ध र दमनको बाटो अख्तियार गर्‍यो।

बारम्बार सचेत गराउँदा पनि सरकारले अहंकारकै बाटो समातेपछि जनआक्रोश विस्फोट भयो।

४. हाम्रो अडान

हामी निरन्तर सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छौं।

प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री नबन्ने व्यवस्था, उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने आयोग लगायतका मुद्दा हाम्रा प्रमुख अडान हुन्।

जेन-जी पुस्ताले उठाएका माग हाम्रा मागसँग मेल खान्छन्, त्यसमा हामी समर्थन गर्दछौं।

५. ऐतिहासिक पृष्ठभूमि

जनयुद्ध र जनआन्दोलनमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।

दलित, महिला, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम लगायत समुदायको अधिकार संविधानमार्फत सुनिश्चित भयो।

यी उपलब्धिहरूलाई उल्ट्याउने प्रयासलाई प्रतिरोध गरिनेछ।

६. संविधान र प्रणाली

संविधान जारी गर्दा हामीले प्रत्यक्ष कार्यकारी, समावेशी अधिकार र भ्रष्टाचारविरुद्ध आयोग गठनजस्ता फरक मत राखेका थियौं।

ती माग अझै अपूरा छन्, त्यसैले संविधान संशोधन गरी समुन्नत लोकतन्त्रको विकास गर्नुपर्छ।

निकास संविधानसम्मत मार्गबाटै खोजिनुपर्छ।

७. लोकतन्त्र र गणतन्त्र

लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र मात्र हो।

गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्र हो।

जेन-जी आन्दोलनको माग संसदीय प्रक्रियामै पूरा गर्न सकिन्छ भन्नेमा हामी विश्वास गर्छौं।

८. हाम्रो नीति

माओवादी केन्द्र समानता, स्वतन्त्रता र स्वाधीनताका पक्षमा अडिग छ।

परिवर्तनविरोधी शक्तिहरूबाट भइरहेका भ्रम र प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गर्दछौं।

यथास्थितिमा बस्ने होइन, निरन्तर प्रगतिशील परिवर्तनतर्फ अघि बढ्ने हाम्रो अडान छ।

९. अपील

संक्रमणकालको फाइदा उठाउन खोज्ने प्रतिगामी सडयन्त्रविरुद्ध सतर्क रहौं।

शान्ति, संविधान र गणतन्त्र पक्षधर सबै शक्ति एकताबद्ध बनौं।

जनताको जीवन, सम्पत्ति र सार्वजनिक संरचना सुरक्षित राख्न सचेत रहौं।

जेन-जीका माग संविधानसम्मत प्रक्रियाबाट पूरा गर्न सहयोग पुर्याऔं।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.