
लम्जुङ, भदौ २२
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताउनुभएको छ ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा लम्जुङको भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता परिवार, नेताकार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अडान स्पष्ट पार्नुभयो।

“भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुसासनको अभियान चलाएका थियौं। मिटर्ब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौं,” उहाँले स्मरण गर्नुभयो।
उहाँले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गर्नुभयो। चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको जानकारी दिँदै प्रचण्डले “देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो। तर हामी जनतासँगै छौं, फेरि जनताको ताकत लिएर आउने छौं,” भन्नुभयो।
प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लम्जुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लम्जुङको कृषि सम्भावनाबारे जोड दिँदै उहाँले भने, “यहाँको जल, जमीन र वनको उचित सदुपयोग गर्न सके कृषिमा ठूलो प्रगति सम्भव छ। सरकारमा रहँदा हामीले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन खोजेका थियौं।”

उहाँले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत विदेशिएका युवालाई स्वदेश फर्काई कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गर्नुभयो।
“हामीले गल्ती कमजोरी सच्याउँदै आफ्नै वर्गतिर फर्कनुपर्ने देखिएको छ। त्यसैले यो अभियानमार्फत फेरि तपाईंहरूसामु आएका छौं,” उहाँले भन्नुभयो।
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिनेगरी सत्य निरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले त्यसको कार्यान्वयनपछि विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसअघि, भाद्र २१ गते कास्कीको रूपाबाट लम्जुङ प्रवेश गर्दा रामबजारमा भव्य स्वागत गरिएको थियो। साँझ भोर्लेटारमा स्वागत सभा सम्पन्न भएको थियो। भाद्र २२ गते बिहान प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्दै श्री ईशानेश्वर माध्यमिक विद्यालय अवलोकन गर्नुभयो। त्यसपछि सुन्दर बजारस्थित लम्जुङ कृषि क्याम्पस र श्री भक्ति नमूना माध्यमिक विद्यालय अवलोकन गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गर्नुभएको थियो।
प्रचण्डले भन्नुभयो, “राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुसासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लम्जुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु।”
अध्यक्ष प्रचण्डले जनताको पक्षमा पार्टीले गरेका कामहरू जनतामाझ पुर्याउन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गर्दै कार्यकर्ताले जनतालाई केन्द्रमा राखेर समर्पित रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उपाध्यक्ष महासचिव लगायतको टोली सहभागी भएको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan