
हेटौँडा, भदौ १८ । मकवानपुरको उत्तरी क्षेत्र सीमभञ्ज्याङलाई आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ ‘अर्किड ट्रेल’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। भक्त बहादुर रास्कोटी र पवन शाक्यजिको करिब १० वर्षको अथक मेहनत, समर्पण र स्थानीय समुदायको निरन्तर सहयोगपछि सम्पन्न यो ट्रेलले थाहा नगर, इन्द्रसरोबर, कैलाश, राक्सिराङ लगायतका आसपासका पर्यटन क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ।
शुभारम्भ समारोहका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय कुमारी मुक्तानले उद्घाटन गर्दै अर्किड ट्रेलले स्थानीय अर्थतन्त्र, रोजगारी तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले यस परियोजनाले मकवानपुर उत्तरलाई नयाँ पहिचान दिलाउने विश्वास समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा जिसस मकवानपुरका प्रमुख ललित घलान, थाहा नगर प्रमुख विष्णुबहादुर बिष्ट ‘अदर्श’, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष अनुराग बनस्तम, कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, नेकपा (माओवादी) केन्द्र थाहानगर अध्यक्ष बिनोद लामा,समाजसेवी अरुण रायमाझी, थाहा नगर ३ र ४ का वडा अध्यक्षहरु, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत तथा गण्डकी कार्यालय प्रमुख मणि लामिछाने, वनस्पति विज्ञ डा. भक्त बहादुर रास्कोटी, पर्यटनविद् डा. होमबहादुर गुरुङ, थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपसभापति शम्भुसिं कार्की, राष्ट्रिय निर्माण व्यवसायी महासंघ बागमती प्रदेश कमिटीका उपाध्यक्ष राजन ढकाल लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यस्तै, फरक सोच अभियानका अध्यक्ष यादबजंग रायमाझी, समाजसेवी प्रकाश थोकर, नवजागरण पौरखी युवा क्लबका अध्यक्ष सोमलाल गोले, सिमभञ्ज्याङ पोखरी संरक्षण समितिका अध्यक्ष सिताराम सिन्तान, पत्रकार ध्रुव अधिकारी, ध्रुबराज ढकाल र शम्भु अधिकारी, एभरेष्ट युवा विकास क्लबका अध्यक्ष शिवकुमार खत्री लगायत विभिन्न सामाजिक संस्था तथा युवाहरुको समेत सक्रिय सहभागिता देखिएको थियो।
प्राकृतिक आकर्षण र सम्भावना
सिमभञ्ज्याङ क्षेत्र दुर्लभ प्रजातिका अर्किड फूलका लागि विख्यात मानिन्छ। यहाँ भेटिने २०० भन्दा बढी प्रजातिका अर्किडले पर्यटकलाई लोभ्याउने अपेक्षा गरिएको छ। साथै, यस क्षेत्रमा रहेका हरियाली डाँडाकाँडा, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैलीले पर्यटकलाई फरक अनुभव दिने आयोजकहरुले बताएका छन्।
भविष्यका योजना
अर्किड ट्रेललाई व्यवस्थित बनाउन पर्यटनमैत्री संरचना, पदमार्ग, विश्रामस्थल र सूचनापट्टिका जस्ता पूर्वाधार विस्तार गर्ने योजना रहेको छ। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी नेपालकै प्रसिद्ध पदमार्गहरुको सूचीमा समावेश गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।
समारोहलाई सफल बनाउन अहोरात्र खटिएका सिमभञ्ज्याङका सम्पूर्ण नागरिक, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने तथा सकारात्मक सद्भाव राख्ने सबैलाई यस योजनालाइ १० बर्ष देखि यहि अभियानमा लागिरहनु भएका अभियान्ता बिनोद लामाले सबैलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan