
भदौ १६,२०८२/ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नयाँ निर्देशकमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार डा. सापकोटालाई औपचारिक नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य तथा शैक्षिक केन्द्रका रूपमा रुपान्तरण गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्व आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो । उहाँका अनुसार, अनुभवी चिकित्सक डा. सापकोटाको नेतृत्वमा स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरणलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
चितवन निवासी डा. सापकोटा हालसम्म हेटौंडा अस्पतालका कार्यवाहक निर्देशकको भूमिकामा रहेर नेतृत्व गरिरहेका थिए । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट एमएस (अर्थोपेडिक्स) अध्ययन पूरा गरेका उनी, दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवामुखी कार्यमा संलग्न रहँदै आएका छन् ।
नव–नियुक्त निर्देशक डा. सापकोटाले सेवा–स्तर र शैक्षिक गुणस्तर उन्नत बनाउन आफू प्रतिबद्ध रहने बताउनुभयो । “सबैको विश्वास जितेर हेटौंडा अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्था बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ,” उहाँले प्रतिक्रिया दिनुभयो ।
उहाँले उपकुलपति डा. प्रदिप ज्ञवाली समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे, डा. खगेश्वर गेलाल, समितिका सदस्य उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्राध्यापक सुपेन्द्र कार्की, प्रशासन प्रमुख अमर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan