
हेटौंडा, भदौ ११।
मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुर क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी पठाइएको पत्रमार्फत उनले थाहा नगरपालिका, भिमफेदी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिनका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता अन्त्य गर्न तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
हाल प्रशासनिक सेवा लिन हेटौंडा पुग्नुपर्ने अवस्थाले हजारौं नागरिकलाई असुविधा भएको भन्दै उनले उत्तरी क्षेत्रमै इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। देशका विभिन्न जिल्लामा प्रशासनिक सेवा सहज र छिटो छरितो बनाउन इलाका प्रशासन कार्यालयहरु स्थापना हुँदै आएको प्रष्ट्याउँदै बर्तौलाले मकवानपुरमा पनि सोही आधारमा कार्यालय स्थापना गर्न माग गरेका हुन्।
“स्थानीय जनताले छिटो, सहज र सुलभ रुपमा प्रशासनिक सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना अति जरुरी भएको छ,” पत्रमा उल्लेख गरिएको छ।
सांसद बर्तौलाले यसअघि पनि जनताका मागलाई प्राथमिकतामा राख्दै विभिन्न विकास कार्यक्रम अघि सारेका थिए। उत्तरी मकवानपुरका जनताले लामो समयदेखि भोग्दै आएको प्रशासनिक असुविधा समाधान गर्न यसपटक उनले प्रत्यक्षरूपमा प्रधानमन्त्रीलाई पत्र पठाएर पहल गरेका हुन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan