
हेटौँडा, भदौ ९ २०८२ / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारका लागि घर निर्माण गरिदिने भएका छन्।
सोमबार मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्चमार्फत २ लाख रुपैयाँ बराबरको चेक गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्। उनकाे श्रीमान् पाँच वर्षअघि निधन भएको र अपाङ्ग छोरासहित जीर्ण घरमा बस्दै आएकी सुनारको अवस्था स्थानीय समाजसेवी तथा गाउँपालिकाको सिफारिसमा मुख्यमन्त्रीसम्म पुगेको थियो।

मुख्यमन्त्री बानियाँले यसअघि नै आफ्नो सेवा–सुविधाबाट प्राप्त हुने रकम विपन्न परिवारको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार उनले सुनारको लागि उक्त सहयोग उपलब्ध गराएका हुन्।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष यादव थपलिया, समाजसेवी प्रकाश वर्तौला तथा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतको उपस्थिति थियो।
उक्त रकमबाट दुईवटा कोठा, एउटा भान्छा तथा शौचालय–बाथरुमसहितको घर निर्माण गरिने योजना गाउँपालिकाले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan