
काठमाडौं, भदौ ९/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्।
आज खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई ज्ञापन गरेका हुन्।
बधाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उहाँले भन्नुभयो,
“नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी तथा निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।”
प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्धलाई स्मरण गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै हाल अन्तिम चरणमा पुगेको पर्यटनसम्बन्धी विधेयक पारित गराउन आफुले पहल गर्ने प्रतिज्ञा समेत गरे।
हालै सम्पन्न निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो। एक उपाध्यक्ष र एक सदस्यबाहेकका सबै पदमा सो प्यानलका उम्मेदवार विजयी भएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan