
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भएको छ ।
आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले नगरको चौतर्फी विकासका लागि बागमती सरकार तयार रहेको बताउदै थाहा नगरको विकासको मुख्य आधार पर्यटन भएको बताउनु भयो । मुख्यमन्त्री बानियाँले थाहामा धार्मिक पर्यटनको विकास गर्न आफू तयार रहेको बताउदै चालू आर्थिक वर्ष मै एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भयो ।
वहाँले कभर्ड हल लगायत अन्य पुर्वाधारमा पनि प्रदेश सरकारको सहयोग निरन्तरता हुने बताउदै थाहा नगरपालिकामा ठेक्का हालेर काम समयमानै सम्पन्न नगर्ने ठेकेदारलाइ कारबाही गरि कालोसूचीमा राख्ने वचन दिए।
मुख्यमन्त्री बानियाँ थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको हो ।
कार्यक्रमको अवसरमा बागमती प्रदेश कै दोस्रो पूर्ण संस्थागत सुत्केरी पालिका बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले थाहा नगरको विकासका निमित्त महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हुँदै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरि रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमको रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

बागमती प्रदेश सदस्य कुमारी मोक्तानले अघिल्लो सरकारले थाहा नगरपालिकामा प्रदेश सरकारबाट क्रमागत र बहुबर्षिय रुपमा पारेको योजनामा समेत बजेट नपारेको दुख व्यक्त गर्दै थाहाको बिकासको लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराए।

तेसैगरी बागमती प्रदेशको स्वाथ्यमन्त्री किरण थापा मगरले प्राथमिक स्वाथ्यकेन्द्र पालुङमा एक जना डाक्टर सहित आवश्यक उपकरण सहित एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्द्ता व्यक्त गरे।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan