
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान् कृष्णलाई पहिलो गणतन्त्रवादीको रूपमा व्याख्या गरेका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा आयोजित ऐतिहासिक घैंटोफोर जात्रालाई सम्बोधन गर्दै उनले भने, “भगवान् कृष्ण जेलमा जन्मेर सामान्य ग्वालाको जीवन बिताउँदै आफ्नै शक्तिशाली मामा राजा कंशविरुद्ध लडेर जनतालाई मुक्ति दिलाउनुभयो । त्यसैले उहाँ पहिलो गणतन्त्रवादी र गरिब जनताको प्रतिनिधि हुनुहुन्थ्यो।”

मुख्यमन्त्री बानियाँका अनुसार वर्तमान गणतान्त्रिक व्यवस्था पनि कृष्णकै विचार र दर्शनसँग मिल्दोजुल्दो छ, जसको मूल उद्देश्य गरिब, श्रमिक र वञ्चित वर्गको हित गर्ने हो । उनले थपे, “यो गरिबको व्यवस्था हो, यसलाई बदनाम गर्नेहरू गणतन्त्र र जनताको शक्ति मन नपराउनेहरू हुन् ।”
विकास र धार्मिक पर्यटनमा जोड
मुख्यमन्त्री बानियाँले थाहा नगरको पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । चित्लाङ–गणेशमान मार्ग र कलङ्की–कुन्छाल सडक स्तरोन्नति भइरहेको जानकारी दिंदै उनले रुपचन्द्र विष्टले निर्माण गरेको विकास घरको संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए ।
नगरको सुरक्षाका लागि सीसीटीभी जडान, बजार व्यवस्थापनका लागि रकम उपलब्ध गराउने र धार्मिक पर्यटन प्रवर्द्धनमा सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

“म कांग्रेसको मात्र नभई सिङ्गो प्रदेशको मुख्यमन्त्री”
आफ्नो कार्यकाललाई गरिबमुखी, गाउँमुखी र विकासमुखी बनाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले आफू कुनै दलको मात्र नभई सम्पूर्ण बागमती प्रदेशको मुख्यमन्त्री भएको स्पष्ट पारे ।
श्रीकृष्ण जात्रा मुल आयोजक समितिका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, कांग्रेस, एमाले, माओवादी लगायत दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan