
हेटौँडा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले मंगलबार प्रभातफेरीसहित २६औं स्थापना दिवस उत्साहपूर्वक मनाएको छ।
“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारासहितको प्रभातफेरी हेटौँडाको सिमाचोकबाट सुरु भई बुद्धचोक,उद्योग वाणिज्य चोक हुँदै पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष एवम् फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरले आदिवासी जनजातिको आवाज सञ्चारमा सशक्त रूपमा स्थापित गर्न फोनिजको योगदान प्रशंसनीय रहेको बताए। उनले पत्रकारिताको दिगो विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र पेशागत उत्तरदायित्वका साथ क्रियाशील रहन पत्रकारहरुलाई आह्वान गरे।
फोनिजका केन्द्रीय पार्षद तथा पत्रकार महासंघ बागमती प्रदेश सदस्य सुर्वणलाल श्रेष्ठले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै,संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानजस्ता महत्वपूर्ण उपलब्धी हासिल गर्न जनजाति पत्रकारको योगदान स्मरणीय रहेको बताए।
कार्यक्रमको अध्यक्षता गरेका फोनिज मकवानपुर अध्यक्ष नवराज वाईबाले यस दिवसले समावेशी सञ्चार प्रवर्द्धन र आदिवासी जनजाति समुदायको आवाज सशक्त बनाउन सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। साथै,पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तालिम तथा कार्यक्रमको आवश्यकता औंल्याउँदै नेपाल पत्रकार महासंघ बागमती अध्यक्षसँग सहकार्यको अपेक्षा राखे।
कार्यक्रममा फोनिज बागमतीका उपाध्यक्ष दीलबहादुर रुम्बा, सचिव एवम् सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङ, प्रेस चौतारी मकवानपुर इञ्चार्ज विवश अधिकारी लगायत फोनिजकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan