मध्यवर्ती खारेजी र लालपुर्जा वितरणको मागमा भुमिहिन सुकुम्बासीको दबाब

मकवानपुर, मनहरी – लामो समयदेखि लालपुर्जा प्राप्तिका लागि संघर्षरत भुमिहिन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिती मनहरीले मध्यवर्ती खारेजीको मागसहित हस्ताक्षर अभियान सुरु गरेको छ। आइतबार (साउन २५) मनहरी बजारमा सुरु भएको अभियानमा दुधे बालक काखमा च्याप्दै एक महिला हस्ताक्षर गर्न आइपुगेको दृश्यले विशेष ध्यान खिच्यो।

मनहरी–७ रमनटारकी लक्ष्मी सुनार साढे ३ वर्षका बालकलाई काखमा लिएर हस्ताक्षर कार्यक्रममा सहभागी भइन्। उनले हरेक चुनावमा नेताहरुले अव्यवस्थित बस्तीका मतदाताबाट भोट मागेर सत्तामा पुगे पनि पछि वेवास्ता गर्दै आएको आरोप लगाइन्। “हामी बसोबास गर्दै आएको स्थान मध्यवर्ती क्षेत्रमा परेको भन्दै बारम्बार जग्गा नाप्न रोक लगाइन्छ, त्यसैले अब मध्यवर्ती नै खारेजी हुनुपर्छ,” उनले आक्रोश पोखिन्।

अभियान अन्तर्गत आइतबार पत्रकार सम्मेलन पनि गरिएको थियो। सहभागीहरुले मध्यवर्ती खारेजी र लालपुर्जा वितरणका लागि राज्यले तत्काल ध्यान दिनुपर्नेमा जोड दिएका थिए। समितीका संयोजक क्षेत्र बहादुर मुक्तानले, “यदि लालपुर्जा नदिने हो भने जस्तोसुकै आन्दोलन गर्न हामी पछि हट्नेछैनौं,” भने।

मनहरीमा हाल भुमिहिन, अव्यवस्थित बसोबास र सुकुम्बासी गरी ८,४५३ घरधुरी रहेका छन्। अभियानमा सत्तारूढ नेकपा एमालेका जिल्ला कमिटी सल्लाहकार बिरेन्द्र डी.सी.ले छिट्टै संघीय संसदबाट ऐन संशोधनको तयारी भइरहेको र समस्याको समाधान हुने विश्वास दिलाए। उता, प्रमुख प्रतिपक्षी नेकपा माओवादीका नेता डम्बर बहादुर मुक्तानले धेरैपटक आश्वासन दिएर पनि परिणाम नआएको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरे। उनले चेतावनी दिँदै भने, “अब भोट माग्न आउँदा दात झर्नेछ।”

अभियान सहज रूपमा सञ्चालन गर्न स्थानियवासीबाट स्वतःस्फूर्त सहयोग भएको आयोजकहरूले जनाए। यसैदिन हेटौँडा–पदमपोखरीमा पनि मध्यवर्ती खारेजीको मागसहित हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.