
मकवानपुर — “संघीयता, सुशासन, समृद्धि, समाजवाद” भन्ने मूल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) मकवानपुरको जिल्ला अधिवेशन हेटौंडास्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भएको छ।
अधिवेशनले दिपक सिंतानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो। उपाध्यक्षमा छविलाल वाइवा, सचिवमा सुशिला घलान, कोषाध्यक्षमा रिता मंग्राती लगायत चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना र आर्थिक तथा सामाजिक न्यायमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिए। उनले सबैको हक, अधिकार र पहिचान सुनिश्चित गरी सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न नेपाली परिवेशअनुकूल समाजवादी व्यवस्था अपरिहार्य भएको बताए। “त्यस्तो समाजवादको मार्गचित्र जनता समाजवादी पार्टीले ल्याउनेछ,” उनले भने।
कार्यक्रममा विशिष्ट अतिथि जसपाका केन्द्रीय अध्यक्ष अशोक राई, केन्द्रीय उपाध्यक्ष सुशिला श्रेष्ठ, महासचिव मो. इस्तियाक राई, केन्द्रीय सदस्य अर्जुन लम्साल, केन्द्रीय सदस्य सोनम लामा, बागमती प्रदेश मुख्य सचिव दिपक जंगल कुँवर, नेवा राष्ट्रिय समिति सचिव उमा ताम्राकार, काठमाडौं जिल्ला अध्यक्ष सुजन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
अधिवेशन सोमबहादुर घलानको सभापतित्वमा सम्पन्न भएको हो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan