
हेटौंडा, साउन १७ – नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर अन्तर्गत स्कुल विभागको आयोजनामा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। हेटौंडा–५, गर्दोइस्थित पार्टी कार्यालयमा साउन १६ र १७ गते दुई दिनसम्म चलेको उक्त कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य प्रशिक्षित कार्यकर्तामार्फत पालिका तहसम्म माक्र्सवादी विचारधारामा आधारित राजनीतिक तथा वैचारिक प्रशिक्षण विस्तार गर्नु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रमको समापन नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उनले भनिन्, “माक्र्सवादी विचारलाई जनमाझ पुर्याउने कार्यमा यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी माध्यम बन्नेछन्। संगठनको उद्देश्य, दृष्टिकोण र कार्यदिशा बुझ्न र बुझाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
समापन सत्रमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय, बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला संयोजक भीम पाख्रिन, प्रदेश सचिवालय सदस्य विरबहादुर घलान ‘ज्वाला’ लगायत नेताहरूको आतिथ्यता रहेको थियो।

प्रशिक्षण प्रदान गर्ने प्रशिक्षकहरूमा सूर्य सुवेदी ‘पथिक’, युवराज चौलागाईं, तीर्थ थापा मगर, निबन्ध लामा, खुशीलाल मोक्तान, बुद्ध अर्याल लगायतको सक्रिय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रशिक्षण कार्यक्रमले सहभागी कार्यकर्तालाई वैचारिक स्पष्टता, संगठनात्मक कौशल तथा माक्र्सवादी दृष्टिकोणमा आधारित राजनीतिक चेतना प्रदान गरेको छ। सहभागीहरूले आ–आफ्नो पालिकामा गएर स्थानीय तहमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan