
थाहा, मकवानपुर — साउन १३”श्रम तथा उत्पादनमा वाइसीएल अभियान” अन्तर्गत योङ कम्युनिस्ट लिग (YCL) नेपाल, थाहा नगर कमिटीको आयोजनामा थाहा नगरपालिका–४ निवासी चिनिमैयाँ नेपालीको नयाँ घर निर्माण कार्य आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।
विगतदेखि नै जीर्ण अवस्थामा रहेको र बस्न अयोग्य पुरानो घरमा कठिन जीवन यापन गर्दै आएकी चिनिमैयाँ नेपालीको दु:खद अवस्थालाई मध्यनजर गर्दै YCL थाहा नगर कमिटीले सहयोगको हात अघि बढाएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उहाँ आफैंले घर पुनर्निर्माण गर्न नसक्ने स्थितिमा रहेको परिवारको समस्यालाई सम्बोधन गर्न वाइसीएलले सामूहिक श्रमदानको माध्यमबाट घर निर्माण अभियान सुरु गरेको हो।
आजदेखि औपचारिक रूपमा थालनी गरिएको निर्माण कार्यमा वाइसीएलका सदस्यहरू, स्थानीय युवाहरू र सहयोगी समुदायका व्यक्तिहरूले सक्रिय सहभागिता जनाएका छन्। श्रमदान मार्फत अगाडि बढाइएको यस अभियानले ‘जनताको समस्या जनशक्तिबाट समाधान’ गर्ने वाइसीएलको मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रयास गरेको थाहा नगर वाइसीएल कमिटीले जनाएको छ।
YCL थाहा नगर कमिटी अध्यक्ष केसब सुनारले यस महत्त्वपूर्ण कार्यमा सहभागी भई अमूल्य श्रम योगदान दिनुहुने सम्पूर्ण सहयोगी कमरेडहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन।
साथै, YCL ले आगामी दिनहरूमा पनि श्रम र उत्पादनसँग जोडिएका यस्ता अभियानहरूलाई निरन्तरता दिँदै सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan