
मकवानपुर, थाहा — थाहा नगरपालिकाको प्रमुख विष्णु बिष्टको नेतृत्वमा आइतबार ऋषेश्वर क्षेत्रको प्रवेशद्वारदेखि मन्दिरसम्मको करिब एक हजार मिटर दूरीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ऋषेश्वर क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त अभियानले धार्मिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिने ऋषेश्वर मन्दिर क्षेत्रलाई अझ स्वच्छ र आकर्षक बनाउन योगदान पुर्याएको छ।

कार्यक्रममा दामन र सिमभञ्ज्याङका बजार व्यवस्थापन समितिका पदाधिकारीहरू, बुद्धचोक बजार व्यवस्थापन समिति, थानाबजार र शिखरकोट बजार व्यवस्थापन समितिका सदस्यहरू, क्षेत्र विकास समितिका पदाधिकारीहरू, विभिन्न वडा जनप्रतिनिधिहरू, नगर प्रहरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय सरकार, प्रहरी प्रशासन, बजार व्यवस्थापन समिति तथा समुदायबीचको सहकार्यमार्फत भएको यस सरसफाइ कार्यक्रमले सार्वजनिक सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

नगर प्रमुख विष्णु बिष्टले अभियानको सुरुवात गर्दै ऋषेश्वर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए।

स्थानीय वासिन्दाहरूले समेत सरसफाइ जस्ता अभियानमा सामूहिक सहभागिता आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan