
साउन १, काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष समारोहमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ आज एक औपचारिक कार्यक्रम बिच शुभारम्भ गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्ड स्वयं श्रममा सहभागी हुँदै युवासँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने तथा चौर सफाइजस्ता कार्यमा सहकार्य गर्नुभयो। उहाँको उपस्थितिले युवालाई श्रम र स्वाभिमानसहितको विकासमा सक्रिय बन्ने प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले सुरु गरेको यो श्रम अभियान माओवादी केन्द्रको “उत्पादन ब्रिगेड” को निरन्तरता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठनपछिको पहिलो पदाधिकारी बैठकमै मैले पार्टी र वाइसिएलले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिएको थिएँ। त्यसैअनुसार देशव्यापी रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो। यो अभियान हाम्रो आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग गाँसिएको छ।”

यस अवसरमा अध्यक्ष प्रचण्डले युवाहरूमाथि भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिनुपर्ने आह्वान गर्नुभयो। संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचारका प्रकरण उजागर गर्दै आएको उल्लेख गर्दै उहाँले चेतावनीस्वरूप भन्नुभयो, “यदि सरकार यस्तै ढंगले भ्रष्टाचारमा लिप्त भइरह्यो भने, हामी बाध्य भएर सडक संघर्षमार्फत सत्ता परिवर्तन गर्न अग्रसर हुनेछौं।”

कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। वाइसिएल नेपालले देशभर ५५ स्थानबाट एकसाथ अभियानको शुभारम्भ गरिएको जानकारी दिएको छ। अन्त्यमा अध्यक्ष प्रचण्डले युवाहरूमाथि उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपङ्क्तिमा उभिन आग्रह गर्नुभयो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan